जनकपुरधाम, वैशाख ७ गते । मधेश प्रदेशको बारा जिल्ला क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तीनवटा पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यही वैशाख १० गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र जनमत पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो ।
सो क्षेत्रमा स्वतन्त्रसहित २९ जना पुरुष र पाँच जना महिला गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। तीमध्ये जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमतका शिवचन्द्रप्रसाद कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने करैयामाई गाउँपालिका–२ का मतदाता आसमन हजराले बताउनुभयो। उहाँले भन्नुभयो, “उपेन्द्र यादव, कुशवाहा र पौडेलबीच कडा टक्कर हुनेछ।’’ यहाँका अधिकांश मतदाताको भनाइ यस्तै छ। यद्यपि केही मतदाताले भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशप्रसाद खरेल र आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली पनि प्रतिस्पर्धाकै क्रममा रहेको बताएका छन् ।
पछिल्लो प्रधिनिधि सभा सदस्य निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मतले निर्वाचित हुनुभएको थियो। चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि रिक्त भएको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। मतदानको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचारप्रसारलाई तीव्रता दिनुका साथै समर्थन, सहयोग र समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउन सक्रिय पनि देखिनुभएको छ। सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपालगायतको समर्थनमा उम्मेदबार बन्नुभएका जसपा अध्यक्ष यादवले गठबन्धन दलका स्थानीय, जिल्ला, क्षेत्रीय तथा शीर्षस्थ नेताबीच समन्वय गरेर चुनावी माहोल आफ्नो पक्षमा पार्न मतदाताको घरदैलोमा पुगेर मत माग्न सक्रिय रहनुभएको कलैयाका श्यामबाबु यादवले बताए ।
सो क्षेत्रमा पार्टीको उम्मेदवारको पक्षमा समर्थन जुटाएर जिताउन जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि सक्रिय देखिएका छन् । जनमत पार्टीका उम्मेदवारले पनि आफ्नो चुनावी एजेन्डासाथ मत मागिरहेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार पौडेल पनि मतदातालाई रिझाउन सक्रिय छन् ।
तपाईको प्रतिक्रिया