जनकपुरधाम, जेठ ९ गते । मधेश प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।
मंगलबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री, कांग्रेसकै बिरेन्दप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र नेकपा एसका गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको शपथ ग्रहण गराउनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नेपालको संविधाको धारा १६८ को उपभारा (९) बमोजिम देहाय अनुसार मन्त्रीपरिषद् जिम्मेवारीसहित तीन मन्त्रीलाई सरकारमा सहभागी गराउँदै पुनर्गठन गर्नुभएको हो ।
मधेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री संजयकुमार यादव, शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, उर्जा सिँचाई तथा खानेपानीमन्त्री सिंहासन सा कलवार, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादव रहनु भएको छ भने सोही मन्त्रालयका राज्यमन्त्रीमा रहबर अन्सारी रहनु भएको छ । यस्तै बिना विभागीय मन्त्रीमा बसन्तकुमार कुशवाहा र सुरिता कुमारी साह र राज्यमन्त्रीमा शेख अबुुल कलाम अजाद र संजयकुमार यादव हुनुहुन्छ ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सात मन्त्री र एक राज्यमन्त्री रहेका छन् भने बिना विभागीय मन्त्रीमा दुई र राज्यमन्त्री दुई जना रहेका छन् ।
मधेश प्रदेश सरकारमा जम्मा ११ वटा मन्त्रालयमध्ये तीन मन्त्रालय अझैं पनि मन्त्रीविहीन छन् । मन्त्रीविहीन तीन मन्त्रालय गृह सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय जिम्मेवारीमा मुख्यमन्त्री नै हुनुहुन्छ ।










तपाईको प्रतिक्रिया