लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २२ गते ।
मधेश प्रदेशका महिलालाई सशक्त, सबल र आर्थिक रुपमा समृद्ध बनाउने उदेश्यका साथ प्रदेशको १२ वटा पालिकामा सञ्चालन हुने “सशक्त महिला, समृद्ध नेपाल” नामक चार वर्षे परियोजनाको शुभारम्भ भएको छ ।
जनकपुरधामस्थित मधेश प्रदेश सरकार खेलकुद तथा सामाज कल्याण मन्त्रालयको आयोजनामा युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरु (युएनएफपीए, युनिसेफ,युएन वुमन र आइएलओ) को समन्वयमा मधेशको १२ वटा पालिकामा सुचारु हुने उक्त परियोजनाको बिहीबार शुभारम्भ भएको हो ।
खेलकुद तथा सामाज कल्याण मन्त्रालयको समन्वयमा प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लाको १२ वटा पालिकामा सञ्चालन हुने उक्त कार्यक्रममा युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायसहितको प्राविधिक सहयोग रहने छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशसभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा कुमारी यादवले मधेशमा महिला हिंसाको घटना बढिरहेकोले यसलाई नियन्त्रण गर्न प्रदेश सरकारले विधेयक ल्याउन लागेको र सरकारी निकायमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्ने योजना समेत बनाउन लागेको जानकारी दिनुभयो । उहाँले व्यापक प्रचार प्रसारका बाबजुद पनि महिला हिंसा न्युनिकरण हुन नसक्नु प्रदेश सरकारको लागि चिन्ताजन विषय बन्न पुगेको छ, भन्नुहँुदै प्रदेशका महिलालाई सशक्त र आर्थिक रुपमा समृद्ध बनाउन सशक्त महिला, समृद्ध नेपाल परियोजनाको ठूलो योगदान रहने आशा व्यक्त गर्नुभयो ।
यसैगरी उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले मधेश प्रदेश सरकार र स्थानीय सरकारहरूसँग संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनको घनिष्ठ सहकार्यको लागि बलियो आधारको रूपमा काम गर्ने आशा व्यक्त गर्नुभयो ।
यस्तै युरोपियन युनियनका डेप्युटी हेड अफ कोअपरेसन, ईलोईजा आस्टुडिलोले महिला सशक्तिकरणको लागी लामो समय लाग्ने हुनाले आजदेखि नै सबै मिलेर यसमा लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय सरकारको नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएका महिलालाई शिक्षाका कारण पछि हट्नुु पर्ने कुनै कारण नरहेको जिकीर गर्नुहुँदै अब प्रदेशका महिलालाई अगाडी पढ्न परियोजनाले सहयोग गर्ने बताउनुभयो ।
मधेश प्रदेशका खेलकुद तथा सामाज कल्याण मन्त्रालयका निमित्त सचिव चुडामणि फुयाँलले मधेशमा शिक्षा कमजोर नभएको र शिक्षित नयाँ पुस्ता आएपछि महिला हिंसाका समस्या पनि नियन्त्रण हँुदै जाने आशा व्यक्त गर्दै मधेशका शिक्षित बाँकी युवाहरु पनि मधेश बाहिर बस्ने गरेकाले प्रदेशमा हिंसा देखिएको फुयाँलको भनाई छ । उहाँले प्रदेश सरकारले महिलाका लागि सञ्चालन गरेको अभियानले पनि महिलालई प्रोत्साहन गरेको भएपनि महिला हिंसामा भने कमी आउन नसकेको भन्नुहुँदै प्रदेशमा सशक्त महिला, समृद्ध नेपाल जस्तो कार्यक्रमले चेतना जगाउन थप मदत मिल्ने बताउनुभयो ।
उक्त परियोजना प्रदेशस्थित धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका र नगराइन नगरपालिकामा सञ्चालन हुनेछ भने सिरहामा सिरहा नगरपालिका, नवराजपुर गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकामा सञ्चालन हुनेछ । यसैगरी सप्तरीमा अग्निसाइर कृष्णासवरन गाउँपालिका र रौतहटमा बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, पर्साको वीरगंज महानगरपालिका, पकाहा मैनपुर गाउँपालिका, बिन्दबासिनी गाउँपालिका र बारामा आदर्श कोतवाल गाउँपालिका गरी प्रदेशको जम्मा १२ वटा स्थानीय तहहरूमा सञ्चालन हुनेछ ।
परियोजनाले मुख्यतया लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तनमा पुरुष सहभागिता, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरण र मूल्य शृङ्खला प्रवर्धन र लैङ्गिक उत्तरदायी शासन तथा महिला प्रतिनिधिहरूको नेतृत्व विकास तीन विषयलाई प्राथमिकता राखेको छ ।
युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घीय निकाय स्रोतका अनुसार यो कार्यक्रम मधेश प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेश समेत गरी देशका जम्मा ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन हुने युएन वुमनका सूचना अधिकारी संघर्ष पन्तले जानकारी दिनुभयो ।
मधेश प्रदेशका खेलकुद तथा सामाज कल्याण मन्त्रालयका निमित्त सचिव फुयाँलको अध्यक्षतामा सम्पन्न परियोजनाको शुभारम्भ कार्यक्रममा परियोजन सञ्चालन हुने प्रदेशका १२ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, प्रदेशको विभिन्न मन्त्रालयका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
फोटो क्याप्सनः जनकपुरधाममा आयोजित एक कार्यक्रमका बिच प्रदेशको १२ वटा पालिकामा संचलन हुने “सशक्त महिला, समृद्ध नेपाल” नामक परियोजना सुभारम्भ कार्यक्रममा उपस्थित प्रदेशसभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा कुमारी यादव, युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घीय निकायका पदाधिकारीलगायतको उपस्थिति । तस्बिरः लक्ष्मी चौधरी
तपाईको प्रतिक्रिया