जनकपुरधाम, फागुन १८ गते । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे क्षेत्रमा स्थलगत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
चुरे क्षेत्रको समस्या दिनानु दिन बढ्दै गएपछि अभियानले बिहीबार महोत्तरीको रातु नदी नजिकमा चुरे स्थलगत अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरेको हो ।
अभियानका अध्यक्ष सुनिल यादवले चुरे क्षेत्रमा बढ्दो अतिक्रमणका कारण वनजंगलको विनाश बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै चुरे क्षेत्रमा बढ्दो अतिक्रमण तथा विनाशका कारण चुरे क्षेत्र मरभूमिमा परिणत हुँदै गएका बताउनुभयो । उहाँले पानीको मुहानसमेत सुक्न थालेकाले जल, जंगल, जमिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले तराई–मधेशमा गर्मीयाममा पानीको मुलस्रोत सुकिरहेको र चुरे क्षेत्रमा मानवीय वस्ती बढ्दा चुरे अतिक्रमण बढिरहँदा सरोकारवाला पक्षको बेवास्ताले आउने दिनमा जोखिम बढ्दै जाने भएकाले यसप्रति सजग र सचेत हुन आग्रह समेत गर्नुभयो ।
उहाँले विगतका दिनमा चुरे क्षेत्र संरक्षणका लागि आन्दोलन समेत गर्दै आएको स्मरण गराउनु हुँदै आफू बाचुन्जेल चुरे क्षेत्र बचाउ अभियानमा लाग्ने बताउनुभयो ।
यस्तै उक्त कार्यक्तममा उपस्थित वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका पूर्वसचिव नन्दलाल राय यादवले चुरे क्षेत्रको संरक्षण भएमा मावनीय जीवनसमेतको संरक्षण हुने भएकाले यसप्रति सरोकारवाल गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरुले वनजंगल फँडानी, चुरे दोहन, प्रकृति विपरितका कार्य हुनाले नदिनालाहरु सुक्न थालेका छन् । जमिनको पानी समेत सुक्दै गएको अवस्थालाई समेत दर्शाउदैं समयमा चुरे क्षेत्रकोे समस्याप्रति गम्भिर र सजग नहुने हो भने मधेश मरुभूमिमा परिणत हुन बेर नलाग्ने बताउनुभएको थियो ।
चुरे तथा वनजंगल संरक्षण अभियानले आयोजना गरेको उक्त कार्यक्रममा चुरे उत्थानशील परियोजनाका लेखा प्रमुख देवकुमार यादव, समाजिक अभियन्ता शंकर फुयाल, निरज दाहाल, विशाल बस्नेत, समाजसेवी ई. संजय साह, अभियन्ता सुनिल साह, शान्या चौधरी र शर्मिला चौधरीसमेतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया