जनकपुरधाम, असार २ गते ।
चुरे दिवसको उपलक्ष्यमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरेका छन् ।
चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमीनमा चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका १००० बिरुवा रोपिएका हुन् ।
सव डिभिजन वन कार्यालय चुलाचुली, सव डिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी उदयपुरले सहयोग गरेको उक्त कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरूवा उपलब्ध गराएको हो ।
“तराईमा नेपालका आधा जनसङ्ख्या बस्छन्, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन् । तराई जोगिएन भने यी सब मानिसको जीवन तथा जीविका जोखिममा पर्छ । त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ,” प्रमुख अतिथि तथा चुरे उत्थानशील आयोजनाका राष्ट्रिय निर्देशक नबराज पुडासैनीले भन्नुभयो ।
पछिल्लो समयमा वनविनाश, नदीजन्य पदार्थको उत्खनन्, लगायतका मानवीय गतिविधिका कारणले चुरेको क्षेत्रको वातावरण खस्किरहेको, र चुरे क्षेत्रमा बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बञ्जर बनाउने लगायतका समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ । यस्तो सन्दर्भमा वृक्षनरोपणले चुरे क्षेत्रमा केही सुधार गर्नेमा स्थानीयवासी उत्साहित छन् । “पहिले चुरे क्षेत्रमा पानी थियो। अहिले १०० फिट भन्दा गहिरो बोरिङ गर्दा पनि पानी पाइँदैन । अब हामीले वृक्षरोपण गरेर यो क्षेत्रलाई पहिलेको जस्तो बनाउने कोशिश गर्नुपर्छ। आयातीत प्रजातीले यहाँको उर्वराशक्ति घटाउने हुँदा रूख रोप्दा स्थानीय प्रजाती छान्नुपर्छ,” वडा १ का कार्यवाहक वडाध्यक्ष लालबहादुर चाम्लिङ बताउनुभयो ।
यो क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । १० वर्ष अगाडि असार २ गतेलाई चुरे दिवस घोषणा गरियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति चुरिया तराई मधेश संरक्षण तथा विकास समिति अन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन। “चुरे क्षेत्रको माटो अत्यन्त कमलो छ । पानी नुहँदा ढुङ्गा जस्तो साह्रो हुन्छ, पानी परेपछि गल्छ, अनि बगेर गइहाल्छ। यो माटोको संरक्षण गर्न सकिएन भने हामीले उर्वर, मलिलो माटो गुमाउँछौँ । त्यसकारण चुरेको संरक्षण गर्नका लागि एकीकृत भएर लाग्नुपर्ने छ,” आयोजनाका कोशी प्रदेश संयोजक राजकुमार गुप्ताले भन्नुभयो ।
चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ । हाल कोशी प्रदेशमा आयोजनाका ७ वटा नर्सरी रहेका छन् जसमा कूल ४ लाख भन्दा बढी बिरुवा रहेका छन्। यी बिरूवामा रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ, र बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् ।
वृक्षरोपण गरेर वनक्षेत्र बढाउँदै लाने योजना रहेको कमल सामुदायिक वनले बताएको छ। ”वरृक्षरोपण गरेर हामी वनलाई फेरी हराभरा बनाउन चाहन्छौँ। भविष्रयमा यी बिरूवा हुर्काउने र अझै बिरूवा रोप्ने हाम्रो योजना रहेको छ,” कमल सामुदायिक वनकी अध्यक्ष सङ्गीता थलङले बताउनुभयो ।
तपाईको प्रतिक्रिया