जनकपुरधाम, असार ९ गते । मधेश प्रदेशसभाबाट बालिका संरक्षण ऐन २०८१ सर्वसम्मतले पारित भएको छ ।
सभामुख रामचन्द्र मण्डलले सो ऐन सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको हो ।
बालिकामाथि हुने जातीय र लैंगिक विभेद अन्त्य गर्दै शारीरिक, मानसिक र बौद्धिक विकासका लागि मधेश सरकारले बालिका संरक्षणसम्बन्धी कानुन बनाएको छ ।
प्रदेशसभामा सो ऐनमाथि छलफल हुँदा १७ सांसदले आ– आफ्नो धारणा राख्नु भएको थियो । सो क्रममा उठेका प्रश्नको जवाफ खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले दिनुभएको थियो । खेलकुद तथा समाज कल्याणमन्त्री जयसवालले भन्नुभयो, “यो ऐनले बेटी जिन्दावादको म्यासेज दिएको छ ।” उहाँले माता जानकीको जन्मभूमि यो प्रदेशले बालिकासम्बन्धी पहिलो पटक कानुन बनाएको उल्लेख गर्दै अब यस प्रदेशमा छोरीमाथि भइरहेको विभेद अन्त्य हुने बताउनुभयो । बालिकाको संरक्षण र भविष्य निर्माणका लागि शिक्षा, स्वास्थ्य र संस्कारका लागि बालिका संरक्षण ऐन ल्याएको मन्त्रीले बताउनुभयो । लिंग परीक्षण गराउने र छोरी छ भने भ्रुण हत्या गराउने जुन प्रवृत्ति छ, अब त्यो पनि अन्त्य हुनेछ भने छोरी बीमा कार्यक्रम पुनः सुरु गरिने र त्यसका लागि सरकारले १२ करोड रुपैयाँ विनियोजन गरिसकेको मन्त्रीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया