जनकपुरधाम माघ २२ गते । नेपालमा किशोरीहरूको स्वास्थ्य सुरक्षामा नयाँ कदमको रूपमा एचपीभी खोप अभियान सुरु भएको छ। यो अभियानले विशेष गरी मधेश प्रदेशका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने लक्ष्य राखेको छ ।
जनकपुरधाममा आयोजित औपचारिक कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले स्वास्थ्य मात्र नभई भविष्यको सुरक्षा पनि यो अभियानले सुनिश्चित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो खोपले हाम्रो छोरीहरूको जीवन जोगाउनेछ, त्यसैले सबैले यसलाई समर्थन गर्नुपर्छ ।”
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले खोपलाई “महिलाहरूका लागि वरदान“ भन्दै यसले महिलाको जीवन प्रत्याशा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अधयक्ष धनुषा स्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले ग्रामीण क्षेत्रमा समेत खोप सहज पहुँचमा पु¥याउन रणनीति बनाइएको जानकारी दिनुभयो ।
नेपालमा हरेक दिन औसत चार महिला पाठेघरको मुखको क्यान्सरले ज्यान गुमाइरहेको तथ्यले यस अभियानको महत्व झनै बढाएको छ । सरकारले कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका १६ लाखभन्दा बढी किशोरीलाई लक्षित गर्दै खोप वितरण गरिरहेको छ ।
मातृस्वास्थ्य र महिला सशक्तिकरणको प्रतीक बनेको यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानले किशोरीहरू मात्र नभई सम्पूर्ण परिवार र समाजलाई दीर्घकालीन लाभ पु¥याउने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया