जनकपुरधाम, साउन १९ गते ।
गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच श्री राम मन्दिर गुठी अन्तर्गतको चार कठ्ठा जग्गा लिजमा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। यस सम्झौताले जनकपुरधाममा आधुनिक सञ्चार संरचना निर्माणको मार्ग प्रशस्त गरेको छ।
सम्झौताअनुसार गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको धनुषा जिल्ला, जनकपुरधामस्थित चार कठ्ठा जग्गा पत्रकार महासंघलाई व्यावसायिक प्रयोजनका लागि लिजमा दिइनेछ। महासंघले उक्त स्थानमा सूचना, सञ्चार तथा सामाजिक सेवासँग सम्बन्धित बहुपक्षीय पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ।
गुठी संस्थान सञ्चालक समितिको निर्णयपछि सार्वजनिक सूचना जारी गरी प्रस्ताव माग गरिएको थियो। प्राप्त प्रस्तावहरूमध्ये पत्रकार महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दृष्टिकोणले उत्कृष्ट ठहरिएको संस्थानले जनाएको छ।
सम्झौताअनुसार महासंघले निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण लागत स्वयंले व्यहोर्नेछ। साथै, सबै नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान र कार्यतालिका गुठी संस्थानमा पेश गर्नुपर्नेछ। निर्माण कार्य नेपालको प्रचलित कानुन र मापदण्डअनुसार सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
गुठी संस्थानका प्रतिनिधिहरूले निष्क्रिय जग्गालाई उत्पादनशील प्रयोगमा ल्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले जनकपुरधामलाई सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने योजना अनुरूप यस संरचना निर्माणको योजना अघि सारेको हो। महासंघका अनुसार यस भवनमा प्रेस कक्ष, तालिम केन्द्र, सभा हल, सञ्चार सेवा कार्यालय लगायतका पूर्वाधार रहनेछन्।
सम्झौताअनुसार जग्गाको स्वामित्व गुठी संस्थानमै रहनेछ भने महासंघलाई पुनः बहालमा दिने अधिकार मात्र प्राप्त हुनेछ। जग्गा बिक्री वा हक हस्तान्तरण गर्न नपाइने स्पष्ट प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ।
सम्झौतासम्बन्धी सम्पूर्ण कर, दस्तुर, स्वीकृति तथा कानुनी प्रक्रिया महासंघले नै बेहोर्नेछ। सम्झौता समारोहमा पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा, अन्य पदाधिकारीहरू, गुठी संस्थानका कर्मचारी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।









तपाईको प्रतिक्रिया