नेकपा एमालेबाट धनुषा ३को उम्मेदवार जुलीकुमारी महतोले आफूले जनकपुरधाम र धनुषा ३को विकासकालागि अगाडि बढाएका अधुरा योजनाहरु पूरा गर्नकालागि यहाँका मतदाता आफ्नो पक्षमा रहेको दावी गरेकी छन् ।
जनकपुरधाम वडा नम्बर १२ कुवा र वडा नम्बर १५ रामपुरमा स्थानीय मतदाताहरुसंग घरदैलोको क्रममा भेट गरेपछि यहाँका मतदाता आफ्नो पक्षमा रहेको पाएको उनले दावी गरिन् । उम्मेदवार महतोले आफूले यस क्षेत्रको विकासका लागि ल्याएका योजनाहरु कार्यकाल पूरा नहुँदै निर्वाचनमा जाने परस्थितिको सिर्जना भएकाले यहाँका मतदाता आफूलाई नै अवसर दिने बताइन् ।
बिना नीति, बिना भिजनको नयाँ भनाउने दलहरु पुरानो दलहरुप्रति मतदातामा वितृष्णा उत्पन्न हुँदै गइरहेको झठ फैलाईरहेको उनले दावी गरिन् । उनले एमालेले संविधान रक्षा, राष्ट्रिय स्वाधिनताको सवालमा लड्दै आएको दल रहेको कुरा यहाँका मतदाताहरुलाई राम्ररी थाहा रहेको बताइन् ।
एमाले नेतृत्वको सरकार नेपालको विकास तथा समृद्धिको सपना बोकेको दल रहेको दावी गर्दै उम्मेदवारले मधेसको विकासका लागि एमाले नेतृत्वकै सरकारले नेपाल रेलको स्तरोन्नति, सुनकोशी मरिन कमला डाइभर्सन योजना, जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रुपमा विकासका लागि योजना अगाठि बढाएको उनले स्मरण गराए । उम्मेदवार महतोले यहाँका मतदाता यी विषयहरुमा जानकार रहेकाले फेरी एमाले नेतृत्वकै सरकार यहाँका मतदाता देख्न चाहिरहेको दावी गरिन् ।









तपाईको प्रतिक्रिया