धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपालप्रसाद साहले भ्रष्टाचारमुक्त देश र सुशासन कायम गर्न जनमत पार्टीको पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
जनमत पार्टीका उम्मेदवार साहले नगराइन, धनौजी, घोडघास लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्। घरदैलो अभियानका क्रममा उनले सुशासन स्थापना तथा मधेसको अधिकार सुनिश्चित गर्न आफू र आफ्नो पार्टीलाई समर्थन गर्न अपिल गरे।
उनले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने क्षमता जनमत पार्टीसँग मात्र रहेको दाबी गर्दै सयौँ शहीदको बलिदानबाट प्राप्त संघीयता, समावेशिता र मधेसको स्वाभिमान जोगाउन जनमत पार्टीको जित अनिवार्य रहेको बताए।
संघीयता तथा मधेस विरोधी शक्तिहरूलाई परास्त गर्दै मधेस र मधेसी समुदायको समग्र उत्थानका लागि सबैलाई एकजुट हुन उनले आह्वान गरे। “देश र मधेसको निकासको स्पष्ट दृष्टिकोण जनमत पार्टी र डा. सिके राउतसँग मात्र छ,” उनले भने, “त्यसैले ‘हर्न’ छापमा मतदान गरी जनमत पार्टीलाई बलियो बनाउनुपर्छ।”
घरदैलो कार्यक्रममा उम्मेदवार साहसँगै जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले मधेसको अधिकार, पहिचान र विकासका लागि जनमत पार्टी निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरे।









तपाईको प्रतिक्रिया