जनकपुरधाम, चैत १८ गते ।
संघर्ष, उत्सव र यात्राको समिश्रणका साथ महिला पुनस्र्थापना केन्द्र ९ओरेक० ले आफ्नो ३३औँ स्थापना दिवस विविध कार्यक्रमका बीच मनाएको छ ।
सामाजिक रूपान्तरण हाम्रो गन्तव्य भन्ने मूल नाराका साथ बुधबार जनकपुरधाममा ओरेक मधेश प्रदेशद्वारा विशेष कार्यक्रम आयोजना गरिएको हो ।
ओरेक दिवसको अवसरमा ओरेकले विगतमा गरेका गतिविधि, उपलब्धि र हस्तक्षेपहरूको झल्को प्रस्तुत गर्ने गरी विशेष स्क्रिनिङ गरिएको थियो । साथै, संस्थाले सञ्चालन गरेका विभिन्न अभियान र परियोजनासम्बन्धी पोस्टरहरू प्रदर्शनीमा राखिएका थिए, जसले सहभागीहरूलाई ओरेकको कार्यक्षेत्र र प्रभावबारे जानकारी गराएको थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सदस्य तथा महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपकुमारी यादवले समाजमा सुधार ल्याउन नागरिक सचेतना अपरिहार्य रहेको बताउनुभयो । उहाँले ओरेक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाले महिला अधिकारको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । “धेरै पीडित महिलाहरूले ओरेकमा आश्रय पाएका छन्, सीप सिकेर आत्मनिर्भर बनेका छन्,” उहाँले भन्नुभयो, “आगामी दिनमा पनि ओरेक पीडित महिलाहरूको भरोसायोग्य सहारा बन्नेछ भन्ने विश्वास छ ।”
त्यसैगरी प्रदेश सांसद रमिता प्रधानले महिलाको बाँच्ने अधिकार, स्वतन्त्रता र आत्मसम्मानपूर्वक जीवनयापनका लागि ओरेकले खेलेको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो । उहाँले ओरेकले महिलालाई सशक्त बनाउने दिशामा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो ।
ओरेक मधेश प्रदेशकी संयोजक वीणा कुमारी सिंहले विगतका चुनौतीहरूलाई पार गर्दै ३३औँ स्थापना दिवस मनाउन पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले महिला पुनस्र्थापना, महिला अधिकारको संरक्षण तथा पैरवीका क्षेत्रमा संस्थाले निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जीवछी यादव, जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, उपसभापति सङ्गीता ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महिला अधिकारकर्मीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
ओरेकले विगत तीन दशकभन्दा बढी समयदेखि महिला अधिकार, लैंगिक समानता र सामाजिक न्यायका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । संस्थाको प्रयासले धेरै महिलाहरूलाई हिंसाबाट मुक्त गराउँदै आत्मनिर्भर जीवनतर्फ अग्रसर गराएको छ ।








तपाईको प्रतिक्रिया