धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढ्दै गईरहेको समयमा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले जनकपुरधामको समग्र विकासलाई निरन्तरता दिने अभिप्रायले मतदाताहरुको साथ खोजिरहेकी छन् । घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले आफूले अघि बढाएका योजनाहरुका साथै आगामी योजनाहरु कार्यान्वयनकालागि जनताको साथ आवश्यक रहेको बताइन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११मा घरदैलो गर्दै महतोले आफू प्रतिनिधिसभा सदस्य रहँदा अगाडि सारेका विकासका कामहरू कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपरेकाले रोकिएको उल्लेख गरिन् । उनले अब ती योजनाहरूलाई पूर्णता दिन मतदाताले पुनः अवसर दिने विश्वास व्यक्त गरिन् ।
महतोले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफ्नो विशेष पहल रहेको दाबी गरिन् । एमाले नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा जनकपुरधामलाई ‘वैवाहिक गन्तव्य स्थल’ का रूपमा विकास गर्ने अवधारणा आफ्नै पहलमा समावेश गरिएको उनले बताइन् । धार्मिक पर्यटन प्रवद्र्धनसँगै औद्योगिकीकरण र भौतिक पूर्वाधार विस्तारमा पनि आफू निरन्तर सक्रिय रहेको उनको भनाइ थियो ।
घरदैलोका क्रममा मतदाताका गुनासा र सुझाव सुन्दै महतोले उठेका प्रश्नहरूको जवाफ समेत दिएकी थिइन् । मतदाताले विकासका कामप्रति आफ्नो सक्रियता देखेकाले आगामी दिनमा पनि साथ दिने विश्वास उनले व्यक्त गरिन् ।
महतोले नयाँ राजनीतिक दलहरूले बिना नीति र स्पष्ट दृष्टिकोण पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाइन् । नेकपा एमाले संविधान रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको एजेण्डामा अडिग रहेको बताउँदै उनले मधेसको विकासका लागि एमाले नेतृत्वकै सरकारले महत्वपूर्ण योजनाहरू अघि बढाएको स्मरण गराइन् ।
अन्त्यमा महतोले धनुषा–३ को समग्र विकासका लागि सुरु गरिएका अधुरा कामलाई पूरा गर्न आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै मतदातासँग सहयोगको अपिल गरिन् ।









तपाईको प्रतिक्रिया