धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा जनमत पार्टीका उम्मेदवार गोपालप्रसाद साहले शिक्षा, स्वास्थ्य, कृषिमा सुधार र मधेस अधिकारलाई मुख्य एजेण्डा बनाउँदै चुनावी अभियानमा छन् । घरदैलो, भेटघाट र प्रत्यक्ष संवादमार्फत मतदातासँग नजिकिँदै उनले मधेसका मुद्दालाई केन्द्रमा राखेर समर्थन जुटाइरहेका छन् ।
घरदैलोका क्रममा साहले तराई–मधेसको मुख्य आम्दानीको स्रोत कृषि भए पनि राज्यले किसानप्रति विभेद गर्दै आएको आरोप लगाए । उनले पार्टी सधैं किसानको सम्मान र अधिकारको पक्षमा उभिने दाबी गर्दै खेतीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउने तथा आम्दानीका स्रोत विस्तार गर्ने योजना अघि सारे ।
मधेससँग ऐतिहासिक रूपमा विभेद हुँदै आएको उल्लेख गर्दै उनले उक्त विभेद अन्त्य गर्ने स्पष्ट दृष्टिकोण जनमत पार्टी र सिके राउतसँग मात्र रहेको जिकिर गरे । मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने क्षमता पनि जनमत पार्टीसँगै रहेको उनको दाबी थियो । उनले संघीयता, समावेशिता र मधेसको स्वाभिमान जोगाउन आफ्नो पार्टीको जित आवश्यक रहेको बताए ।
संघीयता तथा मधेस विरोधी शक्तिहरूलाई परास्त गर्दै मधेस र मधेसी समुदायको समग्र उत्थानका लागि सबैलाई एकजुट हुन उनले आह्वान गरे । साथै सामाजिक रूपमा बञ्चित तथा पछाडि परेका समुदायको हक–अधिकारका लागि सडकदेखि सदनसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।









तपाईको प्रतिक्रिया