काठमाडौं, २८ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।
आइतबार अपराह्न बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरि आजका लागि बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक आज अपराह्न ५ बजे बस्ने भनिए पनि केही अगाडी सर्न सक्ने तामाङको भनाइ छ।
आइतबार एकता कार्यदलको बैठकमा आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका थिए। तर कार्यदल सहमति नजिक पुगेपछि ओलीले बैठक स्थगित गरेका थिए।
पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सहमति भएसँगै आजका लागि बोलाइएको स्थायी कमिटी बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना रहेको छ।
नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्यूँताइदिएपछि एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता नेपाल पक्ष सहभागी हुने गरेको थिएन। तर, आजको बैठकमा भने नेपाल पक्ष सहभागी हुने सम्भावना रहेको छ।









तपाईको प्रतिक्रिया