जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणाली परिवर्तन हुनु पर्ने बताएका छन् ।
जसपा रौतहटले शनिबार यमुनामाई गापा वडा नं. १ सुकदेव चौकमा आयोजना गरेको वृहत पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार अनियमिततालाई बढावा दिएको उल्लेख गर्दै शासकीय प्रणाली नै फेर्नु पर्नेमा जोड दिएका थिए ।
उनले भने,‘ अहिलेको विकृत संसदीय व्यवस्था र निर्वाचन प्रणालीले इमान्दारलाई चुनाव लड्न दिदैंन । पुँजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौं खर्चेर चुनाव जित्ने व्यक्तिबाट सुशासन र समृद्धिको आशा गर्नु कल्पना मात्र हुनेछ ।’
वर्तमान बेथितीबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उनको कथन थियो । उक्त व्यवस्थाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भए पछि भ्रष्टाचार आफै नियन्त्रण हुने उल्लेख गरे । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उद्घोष समेत गरे ।
कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयता जननी जनता समाजवादी पार्टी संघीयता कार्यान्वयनका लागी आफुलाई जिम्मेवारी दिएर सरकारमा पठाइएको बताए ।
उनले आफुले पाएको जिम्मेवारीबाट संघीयता प्रेमी जनतालाई निराश हुन नदिने उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफुले काम शुरु गरि सकेको जानकारी समेत गराए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकका परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तनमा असफल भइसकेको उल्लेख गर्दै त्यसका लागी जसपा एक मात्र विकल्प रहेको बताए ।
प्रदेश सरकार समाजिक रुपान्तरणलाई मुख्य लक्ष्य बनाएर अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सरकारकोे जनप्रिय कार्यक्रमहरुबाट अतालिएकाहरु विभिन्न बहानामा सरकारलाई बदनाम गर्ने प्रपञ्च गरि रहेको बताएका छन् ।
जनताको पक्षमा काम गर्दै आएको प्रदेश सरकार विपक्षीहरुको षड्यन्त्रबाट विचलित नभई अझ सशक्त भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका एक हजार भन्दा बढी नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादव, मुख्यमन्त्री राउत लगायतका शिर्ष नेताहरुले गम्छा र माला लगाई पार्टीमा स्वागत गरेका छन् ।

प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको विशेष पहलमा आयोजना भएको उक्त कार्यक्रममा पूर्व सांसद गोविन्द चौधरी , प्रदेश सभा सदस्य रामकिशोर यादव सहितका वक्ताहरुले केपी ओलीको प्रतिगमनका मतियार बनेका लोसपालाई जनताले जवाव समेत दिने बताएका थिए ।









तपाईको प्रतिक्रिया