प्रहरी उपरीक्षकसहित आठ जनालाई कारबाहीको सिफारिश
हत्या आरोपमा पक्राउ परेका एक दलित युवकलाई प्रहरी हिरासतमा चर्को यातनापछि मृत्युवरण गर्न बाध्य बनाएको आरोपमा रौतहट प्रहरीका तत्कालीन प्रहरी उपरीक्षकसहित आठ जनालाई कारबाही गर्न सिफारिश गरिएको छ ।
गृहमन्त्रालयले गठन गरेको घटना अध्ययन तथा छानबिन समितिले कारबाहीको सिफारिश गरेको हो । मृतक युवाका परिवारसहित गठित दलित संयुक्त संघर्ष समितिले प्रहरीउपर कारवाही नभएसम्म आन्दोलन उग्र बनाउँदै लैजाने रणनीति अख्तियार गरेपछि गृहमन्त्रालयले उपसचिव डोलेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
त्यो छानबिन समितिले घटनाको स्थलगत अध्ययन गरी गृहमन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको छ । समितिका एक अधिकारीका अनुसार तत्कालीन प्रहरी अधिकारीहरुको चरम लापरबाही र हेलचक्र्याईका कारण हिरासतमा रहेका अभियुक्तको मृत्यु भएको निष्कर्ष निकालिएको छ । हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई हिरासतमा चरम यातना दिइएकोसमेत ठहर गर्दै समितिले तत्कालीन प्रहरी उपरीक्षकसहितका प्रहरी अधिकारीउपर कारबाहीको सिफारिश गरेको हो ।
