बलिउड कलाकार सुशान्त सिंहको हत्या नभइ आत्महत्या भएको एम्सको रिपोर्ट
फिल्म अभिनेता सुशान्त सिंह राजपूत प्रकरणमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) को फरेन्सिक डाक्टरहरुको टिमले केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रिपोर्ट बुझाएको छ ।
एम्सको रिपोर्टमा सुशान्तको हत्या भएको अस्वीकार गर्दै उनको मृत्युको कारण आत्महत्या भएको बताइएको छ । एम्सको यो रिपोर्टले सुशान्तको हत्या नै भएको हो भन्दै आएका उनका परिवारलाई ठूलो झट्का पुगेको छ । गएको २८ सेप्टेम्बरमा एम्सका फरेन्सिक डाक्टरको टिम र सीबीआईबीच एक महत्त्वपूर्ण बैठक भएको थियो । जसमा एम्सले सीबीआईलाई ‘भिजरा’ जाँचको रिपोर्ट सुम्पिएको थियो । विसरा जाँचअनुसार विषको पुष्टि भएको थिएन । यससम्बन्धमा डाक्टर सुधीर गुप्ताले एम्सको टिम जाँचको नतिजामा पुगेको बताएका थिए ।
एम्सको फरेन्सिक टिम र सीबीआई एक–अर्काको नतिजामा सहमत छन् तर तार्किक निष्कर्षमा पुग्न केही कानुनी पक्षलाई ध्यानमा राख्नु आवश्यक छ । त्यसपछि एम्सको फरेन्सिक टिमले पूरा जाँच गरेपछि फाइनल रिपोर्ट सीबीआईलाई सुम्पिनेछ । एम्सका डाक्टरहरुको एक प्यानलले सीबीआईलाई आफ्नो राय दिँदै अभिनेता सुशान्त सिंह राजपूतको हत्या नभइ आत्महत्या प्रकरण भएको जनाएको हो । अभिनेताको मृत्यु प्रकरणमा जुटेको सीबीआईले अहिलेसम्म प्राप्त प्रमाणहरुलाई लिएर अध्ययन गरी निष्कर्षमा पुग्ने जनाएको छ । गएको जुन १४ मा सुशान्त मुम्बईमा रहेको आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यो घटनायता बलिवुडमा नेपोटिजमदेखि ड्रग्ससम्मका विषयमा अनुसन्धान भइरहेको छ ।
सुशान्त सिंह प्रकरणको जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाको लेनदेनको विषयमा ईडी, मृत्युको विषयमा सीबीआई र लागुऔषधसँग जोडिएको विषयमा एनसीबीले जाँच गरिरहेको छ ।
