जनकपुरधाम, साउन १८ गते । नगर क्षेत्रमा बढ्दो विद्युतीय रिक्सा (ई–रिक्सा) र अटो टेम्पो सञ्चालनलाई व्यवस्थित बनाउन बस व्यवसायीहरुले जनकपुरधाम उपमहानगरपालिकालाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पछिल्लो समय जनकपुरधाममा अत्यधिक संख्यामा बढिरहेका ई–रिक्सा र टेम्पोको अव्यवस्थित सञ्चालनप्रति आपत्ति जनाउँदै माँ जानकी जनकपुरधाम यातायात प्रालिको नेतृत्वमा बस व्यवसायीहरुले शुक्रबार उपमहानगरपालिका प्रमुख मनोजकुमार साह समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा इजाजतप्राप्त ई–रिक्सा तथा टेम्पोलाई तोकिएको क्षेत्रभित्र मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग गरिएको छ । यस्तै, मुख्य राजमार्गमा यस्ता सवारीसाधनको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई पालिकाले स्पष्ट कार्यविधि बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
रुट परमिट विना अन्तरपालिका तथा अन्तरजिल्ला सवारी आवतजावतमा रोक लगाइनु पर्ने, बस स्ट्यान्डभन्दा कम्तीमा ८०० मिटर टाढा मात्रै साना सवारी स्ट्यान्ड तोक्नुपर्ने, र रातो नम्बर प्लेट भएका सवारीले यात्रु ओसारपसार गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी, विना लाइसेन्स सवारी चलाउने चालकहरूलाई निगरानीमा राखी आवश्यक कारबाही गरिनुपर्ने, इ–रिक्सा तथा टेम्पोको भाडादर सार्वजनिक स्थलमा स्पष्ट रूपमा टाँस्ने व्यवस्था गर्नुपर्ने, र नगर प्रवेश नाकाहरूमा उपमहानगरपालिका, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयको समन्वयमा चेकजाँच कडाइका साथ गर्नुपर्ने सुझाव पनि पत्रमा समावेश छ ।
यस्तै, कालोपत्रे सडकमा छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ती चौपायाको नियन्त्रण गरिनुपर्ने र यस्ता घटनामा बस व्यवसायीले क्षतिपूर्ति व्यहोर्नु नपर्ने व्यवस्था मिलाइनुपर्ने माग गरिएको छ भने नगर क्षेत्रभित्र इन्धनबाट चल्ने टेम्पोको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइनुपर्ने मागसमेत पत्रमा उल्लेख गरिएको छ ।
यता, यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीले ई–रिक्सा तथा अटो टेम्पोहरूले तोकिएको मापदण्ड र क्षेत्रको उल्लंघन गर्दै मुख्य राजमार्ग र अन्तरजिल्ला रुटमा समेत यात्रु ओसारपसार गरिरहेको कारणले सर्वसाधारण यात्रु, पर्यटक तथा बस व्यवसायीहरू दिनहुँ सास्ती भोग्न बाध्य भएको बताउनुभयो । उहाँले संघीय कानुनअनुसार ई–रिक्सा तथा अटो टेम्पोलाई राजमार्गमा यात्रु ओसारपसार गर्न नपाइने व्यवस्था भए पनि स्थानीय तहमा यसको अवज्ञा हुँदै आएको भन्दै व्यवसायीहरूले चासो व्यक्त गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो,‘सबैले आफ्नो व्यवसाय निश्चित दायरा र कानुनी मापदण्डभित्र रही सञ्चालन गर्न पाउने अधिकार राख्छन् । तर, कानूनको उल्लंघन गर्दै सञ्चालन हुने सवारीले अरूलाई दुःख, क्षति र अन्याय मात्र दिन्छ ।’
व्यवसायीहरूको भनाइमा ई–रिक्साको नियन्त्रणविहीन विस्तारका कारण बस व्यवसायीहरूका नियमित यात्रु गुम्दै गएका छन् भने रोजगारीसमेत संकटमा परेको छ । अव्यवस्थित सवारी व्यवस्थापनले पर्यटकको अनुभवसमेत प्रभावित बनाएको गुनासो समेत छ ।









तपाईको प्रतिक्रिया