जनकपुरधाम, भदौ २२ गते ।
मिथिलामा आज पितृपक्षको आरम्भसँगै नदी र तलाउका घाटहरूमा धार्मिक गतिविधि मात्र नभई सामूहिक एकताको दृश्य पनि देखिएको छ । कूलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रण गरी गरिएको तर्पणले पितृप्रति श्रद्धा त हो नै, समाजमा साझा आस्थाले सबैलाई एक ठाउँमा ल्याउने अवसर पनि बनेको छ ।
मिथिलामा पितृपक्षलाई परिवार र वंशपरम्परालाई जोड्ने कडीका रूपमा लिइन्छ । दशैं, तिहार र छठ जस्ता पर्व अघि दिवंगत पूर्वजलाई सम्झने परम्पराले परिवारबीचको आत्मीयता बलियो बनाउने विश्वास गरिन्छ । श्राद्ध वा तर्पण गर्न गाउँदेखि शहरसम्मका मानिसहरू घाटमा जम्मा हुँदा धार्मिक कर्तव्यसँगै सामाजिक मेलमिलापको अवसर सिर्जना भएको देखिन्छ ।
धार्मिक दृष्टिले पितृपक्षलाई पवित्र समय मानिँदा व्यवहारिक दृष्टिले यसले वातावरणीय सन्देश पनि दिन्छ । नदी र तलाउमा सामूहिक स्नान तथा तर्पण गर्दा पानी स्रोतको महत्वबारे चेतना जागृत हुने बताइन्छ । पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्ने यो मौकालाई मिथिलावासीले जीवन दर्शनसँगै सामूहिक चेतनाको पर्वका रूपमा समेत हेरेका छन् ।









तपाईको प्रतिक्रिया