जनकपुरधामकी सीयाधीया अर्थात सीताको भगवान श्रीरामसित विवाह भएको संस्मरणमा प्रत्येक वर्ष धुमधामकासाथ विवाहपंचमी महोत्सव मनाउने गरिन्छ । प्रत्येक वर्ष विवाहपंचमी महोत्सवलाई श्रृंगार्न सम्बन्धित निकायहरुको छुट्टै बैठक बसी मेलालाई व्यवस्थित गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिन्छ । समितिहरुले मेला व्यवस्थापन मात्रै नभएर मेलालाई भव्यता प्रदान समेत गरेको देख्न पाइन्थ्यो ।

तर यस वर्ष कोरोना महामारीको त्रासले भगवान श्रीराम र माता जानकीको विवाहमहोत्सवमा सहभागी हुन उल्लेख्य संख्यामा श्रद्धालुहरु आउन सकेन । सप्ताहव्यापी रुपमा मनाउन लागेको विवाहपंचमीको पहिलो दिन नगर र्दशनमै भव्यता प्रदान गरिन्थ्यो भने मटकोर सम्ममा जनकपुरधाम भरिभराउ हुन्थ्यो । एकातर्फ कोरोना महामारीको त्रासले विवाहपंचमी प्रभावित बनेको छ भने अर्को तर्फ सीमानाका बन्द गरिएको कारण उल्लेख्य संख्यामा भारतबाट आउने भारतीय श्रद्धालुहरु समेत आउन सकेको छैन् ।कोरोनाकै कारण प्रत्येक वर्ष झै यसवर्ष अयोध्याबाट जन्ती आउन सकेन । मिथिलाको वैवाहिक परम्परालाई सदृश्यरुपमा देखाउने तरिकाकै कारण विवाहपंचमी महोत्सव दिनप्रतिदिन आकर्षणको केन्द्र बन्दै गएको छ ।

सात दिने महोत्सवमा ठुला व्यापारी मात्रै होइन, सुइधागोको व्यापार गर्नेहरुको राम्रै कारोवार हुने हुदा विवाह पंचमी जनजिविका संग पनि जुडेको रुपमा बुझन सकिन्छ । तर, यसलाई सम्बन्धित निकायले नबुझिदिदा यसवर्षको महोत्सव खल्लो बनेको छ ।
विजयादशमीको भिडले डराउन नसकेको जनकपुरधामलाई मिथिलाको मौलिक परम्परालाई उजागर गर्ने विवाहपंचमीमा सम्बन्धित निकायहरु परम्पराभन्दा पनि कोरोनालाई बढि स्थान दिएपछि उत्साहजनक नभई निराशाजनक बनेको छ ।

शनिवार(आज) भगवान श्रीराम र सीताको विवाह हुने दिन अर्थात विवाह महोत्सवको मुख्य दिन रहेको छ । सीमा बन्द गरिएपनि मुख्यबाटो नभई चोरबाटो भएर दैनिकरुपमा सीमा आरपार भई नै रहेको छ र सोहि बाटो भएर बेटीरोटीको महत्व नबुझेको नेपाल सरकारको निर्णयको सम्मान गर्दै भारतीय श्रद्धालुहरु जनकपुरधाम आउने अपेक्षा गरिएको छ ।
भगवान श्रीराम र सीताको विवाह हुदा साक्षीको रुपमा जन्ती नै नआईदिदा परम्परामाथि प्रहार भएको सरोकारबालाहरुको तर्क छ ।

मिथिलाको परम्परालाई नजिकबाट हेर्न र बुझनका लागि पनि विवाहपंचमीमा देश विदेशबाट विभिन्न मिडियादेखि लिएर महत्वपुर्ण व्यक्तिहरुको अवागमन हुने मिथिलाको परम्परालाई विश्वसम्म पुरयाउने दिन र समय पनि भएकोले सरोकारबालाहरु सोहीरुपमा प्रस्तुत गर्न आफनो स्तरबाट पहल गर्नुपर्ने आवश्यकता रहेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवका अनुसार कोरोना महामारीको समय छ । सीयाधीयाको वैवाहिक कार्यक्रम भव्यरुपमा मनाउनका लागि सोचिए पनि सरकारीस्तरबाट सजग भएर महोत्सव गर्न निर्णय गरिएपछि कानुनले दिएको निर्देशन त पालना गर्नै परेको हुनाले यस वर्ष आफनो तवरबाट भव्यता प्रदान गर्न नसकिएको बताए ।उनले भने, जे जस्तो भएपनि मिथिलाको परम्परालाई जोगाउनका लागि बैठक बसी आफनो अध्यक्षतामा विभिन्न समिति र उपसमितिहरु पनि निमार्ण गरिएको छ तर उत्साह नै नभएपछि के नै गर्न सकिन्छ । मुलुकमा राजनीतिक खिचातानी एका तर्फ छ भने अर्को तर्फ कोरोना महामारीको प्रकोप दुवैले देशको पर्यटन क्षेत्रलाई धाराशायी वनाउनमा कुनै कसर बाकि राखेको छैन, नागरिक समाजका अगुवा अमरचन्द्र अनिल भन्छन, प्रमुख दललाई सरकार बचाउनु देखि लिएर अध्यक्षता बचाउनुको चिन्ता,राजावादीलाई राजा ल्याउने चिन्ता, गरिवलाई पेट भर्ने चिन्ता । तर आन्तरिक पर्यटनका साथ साथै मिथिलाको परम्परालाई सदृश्य प्रस्तुत गर्ने किसीमको महोत्सवमाथि कसैलाई मतलव छ र ? सरकारले मंसिर ३० गते सम्म सीमानाका वन्द गर्ने निर्णय गरेको थियो तर मंसिर समाप्त भएर पुस समेत आइसक्दा पनि सीमानाका खुलेको अवस्था छैन ।

महामारीको कारण सामान्य रूपमै महोत्सव मनाउने आयोजकको आग्रह अनुरूप नै यस वर्ष पर्वलाई निरन्तरता मात्र दिन लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए। विवाह महोत्सवका लागि पनि एक साताका लागि सीमानाका खोल्नुपर्नेमा यसका लागि सरकारलाई झकझकाउन कुनै पनि निकायले पहल गरेको देखिएन् । प्रदेश नं २ कै ठुलो महोत्वको रुपमा विवाह महोत्सव रहेपनि यस वर्ष विवाहपंचमी महोत्सवलाई भव्य बनाउनका लागि केहि पहल नगरेको देखियो भने नेपाल सरकारले सीमा वन्द गर्ने तोकेको समयसीमा समाप्त भइसक्दा पनि सीमा किन सीमा नखोलएको भनेर खोज खवर गर्नका लागि फुर्सद नपाएको देखिएको छ । सात दिने कार्यक्रम अन्तर्गत मटकोर कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मन्त्रीको निजी गाडीहरु सडकमा घुमाउनुको सिवा विवाह महोत्सवमा प्रदेश न २ सरकारको संलग्नता शुन्य रहेको देखियो ।
स्थानिय निकायले सरसफाईको जिम्मा लिए अनुरुप सरसफाई गरेको देखिएपनि मुख्य दिनमा श्रद्धालु भक्तजनहरुलाई हुन सक्ने असुविधा तथा जाडो छल्नका लागि गरिने व्यवस्था मटकोर सम्म देखिएको छैन ।
तपाईको प्रतिक्रिया